काठमाडौं, ३१ भदौ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ । आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गल्फ खेल्दै गरेका ट्रम्पभन्दा केही सय मिटर टाढा झाडीमा लुकेर बसेको अवस्थामा शंकास्पद व्यक्ति देखिएपछि सुरक्षाकर्मीले उनीमाथि गोली चलाएका थिए । ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार यसपटक फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेर्स्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय ¥यान वेल्सी रहेका छन् ।
उनी पक्राउ परेको क्षेत्रबाट प्रहरीले एउटा कालो गाडी, गोप्रो क्यामेरा, झोला र आगो निभाउन प्रयोग गरिने उपकरण पनि फेला परेको थियो ।
अमेरिकी जासुसी संस्था एफबीआईका अनुसार ट्रम्पको हत्या गर्ने प्रयास भएको जस्तो देखिन्छ । अलजजिराले ट्रम्प दोस्रोपटक हत्या प्रयासबाट जोगिएको जनाएको छ ।
ट्रम्पले पनि आफू सुरक्षित भएको भन्दै नडराउन आफ्ना समर्थकलाई आह्वान गरेका छन् । आफूलाई रोक्न खोज्नेहरु जे गर्न पनि तयार भएको भन्दै ट्रम्पले यसविरुद्ध आफ्नो संघर्ष नरोकिने जनाएका छन् ।
यसअघि जुलाई १४ मा पनि पेन्सेलभेनियामा चुनावी अभियानको क्रममा भाषण गरिरहेको बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । त्यतिबेला ट्रम्प आक्रमणबाट थोरैले मात्र बचेका थिए, गोली लागेर उनको कानमा घाउ भएको थियो ।
उक्त घटनामा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए ।