नेपाललाई ऐतिहाशिक सफलता , जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

अनलाइनसमय |
२० माघ २०७५
नेपाललाई ऐतिहाशिक सफलता , जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

वर्साले प्रभावित गरी १० ओभरमा छोट्याइएको टी-ट्वान्टी अन्तर्राष्ट्रिय कृकेटमा नेपालले युएई विरूद्धको सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। अत्यन्तै रोमाञ्चक बनेको खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो।

नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै  ९० रनमा सीमित हुनपुग्यो। आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाउँदा गुलाम सब्बेरले २५ रन जोडे।

मोहम्मद बोताले ११ रन जोड्नु बाहेक युएईका अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्। युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।

दुबईस्थित आइसीसी एकेडेमी ओभलमा आइतवार वर्षा भएपछि खेलाईएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का हिर्काएका हुन्। यस्तै आक्रामक ब्याटिङको नमुना पेश गरी ११ बल खेलेका सनदीप जोराले  ३ छक्कासहित २८ रन बनाए।

पाँचौ विकेटका लागि बिनोद भण्डारीले जोरासँग ३७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए।  भण्डारी १३ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाएर आउट भए।

करन केसीले ४ बलमा १० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भएका थिए।

युएईका लागि मोहम्मद नाभिद र सुल्तान अहमदले २-२ विकेट लिँदा जाहुर खान, र मोहम्मद बोताले १-१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस