काठमाडौं, ३ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र वैचारिक मतभेद नरहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरू सबैको लक्ष्य समाजवाद भएको बताए ।
अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे ।
उनले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौं ।’
यस्तै उनले आफूहरूले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने प्रयास भइरहेको बताए ।
उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिकलगायता दस्तावेजहरुको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताए ।