काठमाडौं, २९ जेठ । चालू आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को वैशाख महिनासम्ममा रु.११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १९ दशमलव २ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रु.१० खर्ब ५ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको थियो ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ ।
चालू आवको वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ३ लाख ७४ हजार ८८७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा २ लाख ३७ हजार ८९३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
१० महिनासम्ममा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.१३०१ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।