काठमाडौं, २८ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा महाधिवेशनको उद्घाटन हुने जसपा नेपालले जनाएको छ । महाधिवेशन जेठ ३० गतेसम्म चल्नेछ ।
आज दिउँसो १ बजे महाधिवेशन उद्घाटन समारोह राखिएको छ । १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने सो पार्टीले जनाएको छ ।
उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट नेता–कार्यकर्ताका साथै शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुँदैछन् । २० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
आज दिउँसो उद्घाटन सत्र पश्चात् साँझादेखि बन्दसत्र सुरु हुने छ । जसमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ ।
साथै महाधिवेशनले नयाँ नेतृत्व चयन गरिनेछ । नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।
हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ ।