काठमाडौं, १३ मंसिर । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आफ्नो ‘कोरिया ओभरसिज भोलेन्टियर (केओभी)’ कार्यक्रममार्फत कैलालीको धनगढीस्थित सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको “विद्यालयको वातावरण तथा मनोरञ्जनात्मक सुविधाहरूको सुधार” नामक परियोजनाका लागि १६,६८४.४० अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त परियोजनाको हस्तान्तरण समारोह २५ नोभेम्बर २०२६ मा विद्यालय परिसरमा सम्पन्न भएको थियो । समारोहमा कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहेन कोङ, विद्यालयकी प्रधानाध्यापक चन्द्रकला दवाडी, पूर्व प्रधानाध्यापक ज्ञानेन्द्र शाह, वडा नं. ७ का वडाध्यक्ष मोती राना, कोइका स्वयंसेवक जिनप्यो जियोङ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कोइका स्वयंसेवक जिनप्यो जियोङ र विद्यालयको संयुक्त पहलमा यो परियोजना कार्यान्वयन गरिएको हो । जियोङ सन् २०२५ नोभेम्बरदेखि यस विद्यालयमा प्राथमिक शिक्षाको क्षेत्रमा स्वयंसेवकका रूपमा कार्यरत छन् ।

यस परियोजनाको मुख्य उद्देश्य वातावरणमैत्री र विद्यार्थीमैत्री विद्यालयको विकास गरी स्वस्थ सिकाइ वातावरण प्रवद्र्धन गर्नु रहेको कोइकाले जनाएको छ । परियोजनाअन्तर्गत विद्यालयको वातावरण सुधारका लागि विभिन्न कार्यहरू गरिएका छन्, जसमा सफा र सुरक्षित स्थान सुनिश्चित गर्न विद्यालयका ब्लकहरूमा ब्लक बिछ्याउने (पेभिङ गर्ने), बाहिरी विश्राम स्थल निर्माण गर्ने र पूर्व–प्राथमिक, प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीहरूका लागि मनोरञ्जनात्मक सामग्री तथा सुविधाहरू उपलब्ध गराउने कार्य समावेश छन् । साथै, तारजालीको बारसहितको साइकल पार्किङ क्षेत्र पनि निर्माण गरिएको छ ।
यसका अतिरिक्त, विद्यालयले पनि खेलमैदानमा कार्यस्थलको व्यवस्था गर्ने, खानेपानीका सुविधाहरू मर्मत गर्ने, शौचालयहरूको स्तरोन्नति गर्ने, निर्माण स्थलको व्यवस्थापन गर्ने, हरियाली कायम राख्ने, वृक्षारोपण गर्ने तथा वातावरणमैत्री एवं स्वास्थ्य प्रवद्र्धनसम्बन्धी गतिविधिहरू सञ्चालन गरेर महत्वपूर्ण योगदान पुर्याएको छ । यी संयुक्त प्रयासहरूले सुरक्षित, स्वस्थ, हरियालीयुक्त र विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न कोइका स्वयंसेवक र विद्यालयबीचको बलियो सहकार्यलाई प्रतिबिम्बित गर्दछ ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक चन्द्रकला दवाडीले सहभागीहरूलाई स्वागत गर्दै विद्यालयका सुविधाहरू सुधार गर्न तथा सिकाइ र अतिरिक्त क्रियाकलापका लागि बालमैत्री वातावरण सिर्जना गर्न परियोजनाले पुर्याएको योगदानको प्रशंसा गरिन् उनले यो परियोजनाले नेपाल र गणतन्त्र कोरियाबीचको लामो समयदेखिको मित्रता र सहकार्यलाई झल्काउने बताइन् । विद्यालयको तर्फबाट उनले कोइका र सम्पूर्ण सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै निर्मित संरचनाहरूको उचित प्रयोग, मर्मतसम्भार र दिगो व्यवस्थापनका लागि विद्यालय प्रतिबद्ध रहेको पुनः दोहोर्याइन् ।

कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहेन कोङले परियोजना सफलतापूर्वक सम्पन्न गरेकोमा कोइका स्वयंसेवक जिनप्यो जियोङ र विद्यालय परिवारलाई बधाई दिए उनले स्वयंसेवकको समर्पण तथा परियोजना अवधिभर विद्यालय व्यवस्थापन, पूर्व एवं वर्तमान प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूले प्रदान गरेको सहयोगको सराहना गरे । उनले स्थानीय स्वामित्वको महत्वमा जोड दिँदै सुविधाहरूको प्रभावकारी उपयोग गर्न र तिनको उचित मर्मतसम्भार सुनिश्चित गर्न विद्यालयलाई प्रोत्साहन गरे । साथै, दिगो विकासका लक्ष्यहरू हासिल गर्न कोइका, यसका स्वयंसेवकहरू र स्थानीय समुदायबीचको सहकार्य महत्वपूर्ण हुने कुरामा पनि उनले प्रकाश पारे ।
यस परियोजनाले विद्यार्थीहरूलाई सुरक्षित, स्वस्थ र वातावरणमैत्री विद्यालय वातावरण प्रदान गर्नुका साथै शारीरिक गतिविधि, असल बानी, वातावरणीय सचेतना र उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदाय स्तरमा गणतन्त्र कोरिया र नेपालबीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ ।
कोरिया ओभरसिज भोलेन्टियर (केआभी) कार्यक्रमले साझेदार देशहरूको समुदाय स्तरमा सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ । यस कार्यक्रममार्फत साझेदार सरकारी निकायहरूको आवश्यकता तथा स्वयंसेवकहरूको विज्ञता, ज्ञान र अनुभवका आधारमा स्वयंसेवकहरू खटाइन्छ । स्वयंसेवकहरूले नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सूचना तथा सञ्चार प्रविधि लगायतका विभिन्न क्षेत्रहरूमा एकदेखि दुई वर्षसम्म सेवा प्रदान गर्दछन् ।
हाल गणतन्त्र कोरिया र नेपाल सरकारबीचको सम्झौताअनुसार नेपालका विभिन्न सरकारी क्षेत्रहरूमा १० जना कोइका स्वयंसेवकहरू कार्यरत छन् । हालसम्म करिब ५०० कोइका स्वयंसेवकहरूले नेपालमा सेवा गरिसकेका छन् र विभिन्न क्षेत्रको विकास प्रयासमा योगदान पुर्याएका छन् ।