काठमाडौं, ९ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव ६६ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६४७ दशमलव ६१ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर २,६३८ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचकमा आएको सुधारसँगै कारोबार रकम पनि बढेको छ । शुक्रबार ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ५२ हजार ६६९ पटक किनबेच भएको छ ।
बुधबार ३५६ धितोपत्र कारोबारमा आए, जसमध्ये १७० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०१ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ३ वटा समूहको उपसूचक घट्दा बाँकी सबै समूहको उपसूचक बढेको छ । यस दिन विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै १ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपषवरको ०.८८, जीवन बीमाको ०.५१, व्यापार समूहको ०.५०, लगानी समूहको ०.४० र बैंकिङ समूह तथा म्युचुअल फण्डको समान ०.२५ प्रतिशतले उपसूचक बढेको छ ।
बुधबार मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढेको छ । त्यस्तै, हिालयन उर्जा विकास कम्पनीको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुसी लघुवित्तको ५.५७ तथा छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशतले शेयर मूल्य बढेको छ । आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ३.३० प्रतिशतले घटेको छ ।