काठमाडौं, ८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले औषधि उद्योगहरूमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) मा तोकिएको गुणस्तर अनिवार्य कायम गर्न निर्देशन दिएको छ ।
हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिल लगायतका उद्योगबाट व्यावसायिक उत्पादन भई बिक्री–वितरण हुँदै आएको रेक्टिफाइड स्पिरिट औषधि उद्योगका विभिन्न प्रयोजनमा प्रयोग भइरहेको छ ।
उक्त पदार्थले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा तोकिएबमोजिम भए÷नभएको र सोही मापदण्डअनुसार परीक्षण, विश्लेषण गरिए÷नगरेको सुनिश्चित गर्न अत्यावश्यक रहेको भन्दै यसको मात्रा सुनिश्चितताका लागि विभागले उक्त निर्देशन दिएको हो ।
विभागले जारी गरेको सूचनामा औषधि उद्योगका विभिन्न प्रयोजनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) मा इन्डियन फार्माकोपिया (आइपी), ब्रिटिश फार्माकोपिया (बीपी) तथा युनाइटेड स्टेट्स फार्माकोपिया (युएसपि) लगायत मान्यताप्राप्त फार्माकोपियाले तोकेको निर्धारित मापदण्डअनुसारको गुणस्तर कायम भएको मात्र प्रयोग गर्न÷गराउन सम्बन्धित सबै औषधि उद्योग तथा सरोकारवालालाई सूचित गरिएको छ ।
यो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ । साथै, सर्भरमा उत्पन्न समस्याका कारण हाललाई उक्त सूचना विभागको वेबसाइटमा प्रकाशन गर्न नसकिएको र समस्या समाधान भएपछि वेबसाइटमा समेत प्रकाशन गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिएको छ ।