नेपाल राष्ट्र बैंकले पायो एसीयूको अध्यक्षता, ११ देशबीच वित्तीय सहकार्य विस्तारको एजेन्डा

अनलाइनसमय |
३ मंसिर २०८३
नेपाल राष्ट्र बैंकले पायो एसीयूको अध्यक्षता, ११ देशबीच वित्तीय सहकार्य विस्तारको एजेन्डा

काठमाडौं, ३ मंसिर । क्षेत्रीय व्यापार तथा भुक्तानी कारोबारलाई सहज बनाउने उद्देश्यले स्थापित एसियन क्लियरिङ युनियन (एसीयू) अध्यक्षको नेतृत्व सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकले पाएको छ ।

अन्तरदेशीय भुक्तानीमा सदस्य राष्ट्रकै मुद्रा प्रयोग गर्ने अवधारणालाई अघि सार्दै नेपालले ११ देशीय एसियन क्लियरिङ युनियन (एसीयू) को नेतृत्व सम्हालेको हो ।

नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन ( एसीयू) सञ्चालक समितिको ५४औँ बैठकले सन् २०२६÷२७ का लागि एसीयू को अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको हो । त्यस अवसरमा बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अध्यक्षता ग्रहण गर्दै स्वागत मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा डा. पौडेलले एसीयूको उद्देश्यप्रति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूबीच स्वदेशी मुद्रा प्रयोग गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ गर्न सहयोग पुग्ने धारणा राखेका थिए । साथै, एसीयूकोBi–Monthly Net Settlement प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानीका क्रममा आउनसक्ने सम्भावित कठिनाईबाट जोगाउन सुरक्षा कवचका रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

बैठकमा इरानका केन्द्रीय बैंकका डेपुटी गभर्नर डा. अस्गर अबोलहसनी हतियानीले परिचयात्मक मन्तव्य राखेका थिए भने एसीयूका महासचिव डा. मोज्ताबा खलेसीले उद्घाटन मन्तव्य राखेका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) का कार्यकारी सचिव आर्मिडा सल्सियाह अलिसजाहबानाले भिडियो सन्देशमार्फत बैठकलाई सम्बोधन गरेका थिए ।

साथै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानी तथा फस्र्यौटको सन्दर्भमा युनियनको भूमिका दर्शाउँदै संस्थागत सुदृढीकरण र निरन्तर कार्यसम्पादनका लागि सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

बैठकले एसीयू महासचिवको‘The Minutes of the 53rd Board of Directors’ meeting held by Central Bank of Iran (CBI) and Operation of the ACU in 2024-25’ सम्बन्धी प्रतिवेदन ग्रहण गरेको थियो भने नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिले गरेका सिफारिसहरू अनुमोदन गरेको थियो ।

कार्यक्रममा सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ–आफ्नो देशको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, बैठकमा ‘Digital Economy and Cross Border Regional Cooperation Roadmap’ विषयमा छलफल भएको थियो ।

बैठकले सन् २०२७/२८ का लागि एसीयूको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार तथा उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गर्नुका साथै बैठकले सञ्चालक समितिको आगामी बैठक जुन, २०२७ मा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले गरेका थिए भने समापनपश्चात् आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा डा. वाग्लेले एसीयूले विगत ५० वर्षभन्दा लामो समयदेखि पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौतीहरूको सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास अपरिहार्य रहनेमा जोड दिए ।

अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ मा एसियन क्लियरिङ युनियनको स्थापना भएको हो । इरानको तेहरानमा सचिवालय रहेको यस युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्का गरी जम्मा ११ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस