काठमाडौं, २७ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा बसोबास तथा रोजगारीमा रहेका नेपाली नागरिकका समस्या समाधान र उनीहरूको हित संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किएको अन्ताल्या पुगेका मन्त्री खनालले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्किएका अध्यक्ष विनोद पौडेलसँगको भेटमा यस्तो धारणा राखेका हुन् ।
भेटका क्रममा अध्यक्ष पौडेलले विदेशमा रहेका नेपालीले भोग्नुपरेका विभिन्न समस्या र सरोकार समेटिएको ज्ञापनपत्र मन्त्री खनाललाई बुझाएका थिए । उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीका गुनासा तथा समस्यालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले विदेशमा रहेका नेपालीलाई सहज र प्रभावकारी कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासोको सुनुवाइ गर्ने तथा सुरक्षा र हित संरक्षणका विषयलाई सरकारले विशेष प्राथमिकता दिएको बताए । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले नेपाली समुदायका समस्यालाई सम्बोधन गर्न आवश्यक पहल गरिने पनि उल्लेख गरेका छन् ।