आजदेखि छठ पर्व सुरु, पहिलो दिन नहाय–खाय मनाइँदै

अनलाइनसमय |
२७ कार्तिक २०८३
आजदेखि छठ पर्व सुरु, पहिलो दिन नहाय–खाय मनाइँदै

काठमाडौं, २७ कात्तिक । चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्व आज शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन् ।

नहाय–खायका दिन व्रतालुहरू नदी, पोखरी तथा जलाशयमा स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन् । यस दिन अरवा चामल, दाल तथा अन्य शुद्ध परिकार खाने परम्परा छ । पारिवारिक सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्दै मनाइने पर्वको दोस्रो दिन शनिबार खरना विधि गरिनेछ । खरनाका दिन दिनभर उपवास बसेर साँझ दूध, चामल र सक्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

छठको तेस्रो दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् । यस दिन पूजा सामग्रीसहित नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यदेवको पूजा आराधना गरिन्छ । पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ । अन्तिम दिन गरिने यस विधिलाई पारन भनिन्छ ।

छठ पूजामा बाँसबाट बनेका ढाकी र डगरी, माटाका कोसिया तथा अन्य पूजाका सामग्री प्रयोग गरिन्छ । ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, फलफूल, मिठाईलगायतका सामग्री सूर्यदेवलाई प्रसादका रूपमा चढाउने परम्परा छ ।

यस पर्वमा व्रत बस्नेहरूले मुख्य अघ्र्यका क्रममा करिब ४८ घण्टासम्म अन्न र पानीसमेत ग्रहण नगरी कठोर उपवास गर्ने गर्छन् । धार्मिक आस्था, अनुशासन र पवित्रतासँग जोडिएको छठलाई सामाजिक एकता, सद्भाव र सहिष्णुताको पर्वका रूपमा समेत लिइन्छ । अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिने यस पर्वमा प्रसाद वितरण गर्ने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिन्छ ।

छठ पर्व सुरु भएसँगै तराई–मधेशका बजारमा पूजा सामग्री र फलफूल किनमेल गर्नेहरूको भीड बढ्न थालेको छ । छठ पूजाका लागि नदी, पोखरी तथा जलाशयका घाटहरू सरसफाइ र सजावट गरी आकर्षक बनाउने काम पनि तीव्र पारिएको छ । जनकपुरधामका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तलाउलगायत ऐतिहासिक जलाशयहरूमा विशेष सजावट भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस