युरोभिजन एसिया २०२६ मा नेपालले पहिलोपटक सहभागी जनाउँदै

अनलाइनसमय |
२० कार्तिक २०८३
युरोभिजन एसिया २०२६ मा नेपालले पहिलोपटक सहभागी जनाउँदै

काठमाडौं, २० कात्तिक । नेपालले पहिलोपटक युरोभिजन संगीत प्रतियोगिता एसिया २०२६ मा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा गायक प्रतीक हिमाल राईले नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले ‘अनन्त माया’ शीर्षकको गीत प्रस्तुत गर्नेछन् ।

नेपालको सहभागिताबारे जानकारी दिन शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा पत्रकार सम्मेलन आयोजना गरियो । आयोजकका अनुसार प्रतियोगितामा नेपाल, बंगलादेश, भुटानसहित ११ देशका ११ गीत सहभागी हुनेछन् ।

नेपालको सहभागितालाई अन्तर्राष्ट्रिय संगीत मञ्चमा नेपाली कला, संस्कृति र पहिचान प्रस्तुत गर्ने अवसर भएको आयोजकले जनाएको छ । ‘उठाऔं सारा प्रवासी नेपाली, हाम्रो संगीत चम्काऔं विश्वसामु यसपालि’ भन्ने नारासहित नेपाल प्रतियोगितामा सहभागी हुन लागेको हो ।

प्रतियोगितामार्फत नेपाली संगीतको अन्तर्राष्ट्रिय प्रवद्र्धनसँगै पर्यटन विकासमा समेत योगदान पुग्ने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगितामा नेपालका दर्शकले नेपाली प्रतियोगीलाई भोट गर्न नपाउने भए पनि विदेशमा रहेका नेपालीले भने भोट गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।

प्रतियोगितामा नेपालको नाम सहभागी देशहरूको सूचीमा दसौँ स्थानमा छ । नेपाली प्रतियोगीको विजयी सम्भावना बलियो रहेको आयोजकले दाबीसमेत गरेको छ ।

प्रतियोगितामा सहभागी देशका कलाकार तथा गीतहरू युरोभिजन संगीत प्रतियोगिताको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस