ट्रम्पले गरे ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा, भावी राष्ट्रपतिले परिवर्तन गर्न नपाउने

अनलाइनसमय |
२० कार्तिक २०८३
ट्रम्पले गरे ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा, भावी राष्ट्रपतिले परिवर्तन गर्न नपाउने

काठमडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा परिवर्तन गर्नबाट रोक्ने उनले दाबी छ ।

पूर्व रियल स्टेट (घरजग्गा व्यवसायी) ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा राष्ट्रपति कार्यालयको स्वरूपमा व्यापक परिवर्तन गरेका छन्, जसमा विशेष गरी धेरै सुनौला वस्तुहरू (गोल्ड फिचर्स) थपिएका छन् ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी यसलाई राष्ट्रिय स्मारक बनाउँदैछौँ, र कुनै अर्कै आकारको संरचना बनाउने नाममा मूर्ख मानिसहरूले यसलाई चलाउन, नष्ट गर्न वा ढाल्न पाउने छैनन् ।’

ट्रम्पले ह्वाइट हाउसको पूर्वी खण्ड (ईस्ट विङ) लाई पूरै भत्काएको केही महिनापछि यो आदेश आएको हो, जुन आयोजनाले कानुनी चुनौतीहरूको सामना गरिसकेको छ ।

उक्त आयोजनालाई अमेरिकी कंग्रेसले पनि स्वीकृति दिएको थियो । सो ठाउँमा नयाँ बलरुम बनाउने योजनाका साथ निर्माण कार्य जारी छ । हाल अमेरिकी राष्ट्रपतिहरूसँग ह्वाइट हाउसमा केही परिवर्तन गर्ने अधिकार हुन्छ, तर ठूला आयोजनाहरूका लागि भने कंग्रेसको अनुमति चाहिन्छ ।

ट्रम्पले बिहीबार हस्ताक्षर गरेको कार्यकारी आदेशले ओभल अफिस र त्यसवरपरका केही कोठाहरूलाई राष्ट्रिय स्मारक घोषणा गरेको छ ।
दस्तावेजमा यो पनि भनिएको छ ‘राष्ट्रिय स्मारकलाई पुनः सजाउने, फर्निचर चयन गर्ने वा स्मारकको ऐतिहासिक संरचना र वास्तुकलालाई ठूलो असर नपुर्याउने साधारण सञ्चालन तथा सुरक्षासम्बन्धी परिवर्तन गर्ने राष्ट्रपतिको अधिकारलाई सीमित गर्दैन ।’

‘हामीलाई ओभल अफिस मन पर्छ, र ह्वाइट हाउस जस्तै यो पनि एउटा प्रतीक हो । यो हाम्रो देश र हाम्रो देशको महानताको प्रतीक हो,’ ट्रम्पले भने । उनले हालैका महिनाहरूमा भ्रमण गरेका विश्व नेताहरूले कोठाको सजावटमा गरिएका परिवर्तनहरूको प्रशंसा गरेको पनि थपे ।
ट्रम्पले आफ्ना परिवर्तनहरू अघि ह्वाइट हाउस र ओभल अफिस मर्मतको आवश्यकतामा रहेको र त्यो अत्यधिक क्षतिग्रस्त भएको बताएका थिए । उनले फुटेका झ्यालहरू, चर्किएका पर्खालहरू र भत्किएका ढुङ्गाहरूको वर्णन गरे ।

यद्यपि, धेरैजसो देखिने परिवर्तनहरू बाह्य सजावटका मात्र थिए; जसमा ओभल अफिस बाहिर ‘ओभल अफिस’ लेखिएको ठूलो सुनौलो फलक राख्ने, रोज गार्डेनमा कालोपत्र गर्ने र नयाँ हेलिकप्टर प्याड थप्ने कार्यहरू समावेश छन् ।

ट्रम्पका अनुसार यो आदेशले कुनै पनि व्यक्तिलाई यो अद्भुत ठाउँ कहिल्यै नष्ट गर्न असम्भव बनाउनेछ । पूरा भवनलाई पहिले नै ‘राष्ट्रिय ऐतिहासिक स्थल’ (नेसनल हिस्टोरिक ल्यान्डमार्क) घोषित गरिसकिएको छ, जसको उद्देश्य भवनमा हुने अकास्मात् परिवर्तनहरूलाई रोक्नु हो ।

राष्ट्रपति भएको नाताले ट्रम्पसँग राष्ट्रिय पार्क जस्तै ‘राष्ट्रिय स्मारकहरू’ घोषणा गर्ने अधिकार छ । ट्रम्पको आदेशमा यो कार्यालयलाई राष्ट्रिय निकुञ्ज सेवा (नेसनल पार्क सर्भिस) ले यसको ऐतिहासिक चरित्र, वास्तुकलाको अखण्डता र राष्ट्रपति पदसँगको सम्बन्धको रक्षा हुने गरी मर्मत–सम्भार गर्न निर्देशन दिएको छ ।

राष्ट्रपतिहरूलाई आवश्यक परिवर्तनहरू गर्न दिनका लागि कंग्रेसले राष्ट्रिय ऐतिहासिक संरक्षण ऐन (नेसनल हिस्टोरिक प्रिजर्भेसन एक्ट) मा छुटको व्यवस्था गरेको छ । वर्तमान ओभल अफिस सन् १९३० को दशकको सुरुदेखि अस्तित्वमा छ, जुन राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्टको अवधारणापछि बनेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस