काठमाडौं, १५ कात्तिक । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा पासवानलाई गोली लागेको थियो । घटनापछि उनलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो ।
नेशनल मेडिकल कलेजमा उपचारका क्रममा पेडियाट्रिक सर्जन डा. विनोद कुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी पासवानको तिघ्रामा लागेको गोली निकालेको थियो । थप उपचार आवश्यक भएपछि उनलाई काठमाडौं रिफर गरिएको बाराका प्रहरीले बताएको छ ।
संघीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने कार्यक्रमका क्रममा झडप भएको थियो । सोही घटनामा पासवान घाइते भएका हुन् ।
घटनाको सत्यतथ्य पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।