काठमाडौं, ४ कात्तिक । हिन्दू नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।
विजया दशमीका अवसरमा आज रातो टीका र जमरा लगाएर सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरिन्छ । नवरात्रका नौ दिनसम्म विधिपूर्वक दुर्गा भवानीको पूजा आराधना गरी स्थापना गरिएको घट तथा पूजा कोठामा अर्पण गरिएका प्रसाद आज मान्यजनबाट ग्रहण गर्ने चलन छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन चाहनेका लागि बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको छ । यद्यपि विजया दशमी आफैँमा शुभ दिन भएकाले उक्त समयभन्दा अघि वा पछि पनि मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सकिने धार्मिक मान्यता छ ।
नवरात्रभर पूजा आराधना गरिएकी देवीको विधिपूर्वक विसर्जन गरेपछि घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी टीका लगाउने परम्परा छ । आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्न सक्नेछन् ।
विजया दशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय हासिल गरेका थिए । सोही विजयको सम्झनामा विजया दशमी मनाउने परम्परा सुरु भएको मानिन्छ ।