काठमाडौं, २२ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाकी परराष्ट्र मन्त्री सिनेटर पेनी वङबीच आज मेलबर्नमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
वार्ताका क्रममा दुवै परराष्ट्र मन्त्रीहरूले नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयहरूमा विचार आदानप्रदान गरे । साझा लोकतान्त्रिक मूल्य–मान्यता, आपसी सम्मान र प्रगाढ जनस्तरको सम्बन्धमा आधारित दुई देशबीचको घनिष्ठ, दीर्घकालीन तथा सौहार्दपूर्ण सम्बन्धप्रति उहाँहरूले सन्तोष व्यक्त गरे ।
परराष्ट्र मन्त्री वङले हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दै नेपालको पुनरुत्थान र पुनर्निर्माणका प्रयासहरूमा अष्ट्रेलियाको ऐक्यबद्धता र दृढ सहयोगको प्रतिबद्धता दोहोर्याए ।
सो अवसरमा मन्त्री वङले आपत्कालीन उद्धार कार्यका लागि यसअघि नै उपलब्ध गराइएको ११ मिलियन अष्ट्रेलियन डलरका अतिरिक्त राहत तथा प्रारम्भिक पुनरुत्थान प्रयासका लागि थप १५ मिलियन अष्ट्रेलियन डलर सहयोगको घोषणा गरे ।
मन्त्री खनालले अष्ट्रेलिया सरकार तथा जनताले देखाएको तत्काल र उदार मानवीय सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै सङ्कटको समयमा प्रदर्शन गरिएको यस्तो ऐक्यबद्धताले दुई देशबीचको दीर्घकालीन सद्भावलाई झल्काउने बताए ।
जलवायु परिवर्तनका साझा जोखिमको सन्दर्भमा मन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीमा परेको असमान प्रभावलाई उजागर गर्न आगामी कोप–३१ को सह–अध्यक्षतालगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा अष्ट्रेलियाको नेतृत्वदायी भूमिका उपयोग गर्न आग्रह गरे । उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् तयारी र जलवायु–उत्थानशील पूर्वाधार निर्माणमा द्विपक्षीय साझेदारी बढाउनुपर्नेमा जोड दिए ।
यस्तै, दुवै नेताहरूले अष्ट्रेलियाली–मान्यता प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम संस्थानहरू स्थापना गर्नेजस्ता पहलहरू खोजी गर्दै शैक्षिक सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल गरे । अष्ट्रेलियाको बहुसांस्कृतिक ढाँचा र अर्थतन्त्रमा नेपाली विद्यार्थी तथा बृहत्तर डायस्पोरा (प्रवासी) ले पु¥याएको महत्त्वपूर्ण योगदानलाई जोड दिँदै मन्त्री खनालले हालै आएको विद्यार्थी भिसा नीतिगत परिमार्जनअन्तर्गत नेपाली विद्यार्थीहरूका लागि सकारात्मक विचार गरिदिन अनुरोध गरे ।
यस्तै, मन्त्रीहरूले व्यापार तथा प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्धन, श्रम गतिशीलता र नेपाल तथा अष्ट्रेलियाबीच सीधा हवाई उडान सेवा स्थापना गर्नेजस्ता विषयमा विशेष ध्यान दिँदै द्विपक्षीय साझेदारीलाई नयाँ उचाइमा पुरÞ्याउने बहुआयामिक सम्भावनाहरूको खोजी गरे ।
मन्त्री वङले नेपालसँगको साझेदारीलाई अझ सुदृढ बनाउने अष्ट्रेलियाको प्रतिबद्धता दोहोरÞ्याउनुभयो र प्राथमिकताका क्षेत्रहरूमा निरन्तर सहकार्यको स्वागत गरे ।
दुवै देशका जनताको आपसी हितका लागि भएका सहमतिहरूलाई मूर्त परिणाममा रूपान्तरण गर्न नियमित उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिने र निकटताका साथ काम गर्ने सहमतिसहित बैठक सम्पन्न भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।