काठमाडौं, २२ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको सबै भू–भागमा तथा कोशी र मधेश प्रदेशको तराई भू–भागमा साघसारणतया लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको तराईको एक–दुई ठाँउमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
सवभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, मधेशलगायत कोशी तराई भू–भागको थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । साथै, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागमा थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।