काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौंमा सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन उपर केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीलाई तीन हलमा राखेर बन्दसत्रमा भाग गराइनेछ ।
केन्द्रीय निर्वाचन समितिले सार्बजनिक गरेको कार्यतालिका अनुसार आज बेलुका ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ । आज बेलुका ५ बजे मतदाता नामावली प्रकाशन, ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, भोलि २० गते विहान १० देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्ने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइनेछ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ । मतदान राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुने छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।