काठमाडौं, १५ असोज । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढीबाट प्रभावित क्षेत्रमा पुल निर्माणका लागि नेपाललाई दुईवटा बेली पुलका आवश्यक सामग्री उपलब्ध गराएको छ ।
नेपालको महावाणिज्य दूतावासले बाढी प्रभावित क्षेत्रमा ३० वटा बेली पुल उपलब्ध गराइदिन सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो । उक्त अनुरोधपछि चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुईवटा बेली पुल निर्माण गर्न आवश्यक सामग्री नेपाललाई हस्तान्तरण गरेको हो ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे ।
कार्यक्रममा नेपाली महावाणिज्य दूतावास र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरूको सहभागिता थियो ।