काठमाडौं, १२ असोज । यस साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ४७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६१३ दशमलव ३३ को विन्दुमा बन्द भएको छ । गत हप्ता बिहीबार परिसूचक ११ दशमलव ७७ अङ्कले बढेर २,६२९ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर ५८ हजार ५०० पटक किनबेच भएको छ ।
सोमबार ३५७ धितोपत्र कारोबारमा आए, जसमध्ये २२३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५० धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूहको १.१६, हाइड्रोपावरको १.०३, होटल एण्ड टुरिजमको ०.८७, फाइनान्सको ०.८५, जीवन बीमाको ०.८३, माइक्रोफाइनान्सको ०.८२, म्युचुअल फण्डको ०.७५ तथा विकास बैंक समूहको ०.६९ प्रतिशतले उपसूचक घटेको छ ।
सोमबार ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माण्डु हाइड्रोपावरको ५.३८ प्रतिशतले बढेको छ ।
आज ह्वाथवे इन्भेष्टमेन्टको शेयर मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घटेको छ । त्यस्तै, इमर्जीङ नेपालको ९.९२, धौलागीरी लघुवित्तको ४.६६ तथा एशियन हाइड्रोपावरको ४.४० प्रतिशतले शेयर मूल्य घटेको छ ।