काठमाडौं, २९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि आवश्यक स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध स्रोतसाधन तथा दातृ निकायबाट प्राप्त सहयोगलाई पुनःस्थापना कार्यमा परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
बाढीपछि उद्धार, राहत तथा व्यवस्थापनका काममा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएको उल्लेख गर्दै उनले विपद्को अवस्थामा स्थानीय जनप्रतिनिधि र नागरिकको मनोबल कायम राख्न अन्तरतह समन्वय महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको सडक सञ्जाललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरकार निरन्तर प्रयासरत रहेको बताए । सडक पुनः सञ्चालन भएपछि विस्थापित तथा प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन सहज हुने उनको भनाइ छ ।
भोटेकोशी नदीको तटीय क्षेत्रमा पुनः बस्ती बसाउँदा भविष्यमा जोखिम दोहोरिन सक्ने भन्दै प्रधानमन्त्री शाहले प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ बस्ती विकास गर्नुपर्नेमा जोड दिए । सरकारले नजिकैका सुरक्षित क्षेत्रमा जग्गा पहिचान गरी नयाँ बस्ती विकासको तयारी थालेको उनले सुनाए ।
नयाँ बस्ती विकास गर्दा रोजगारी, शिक्षा, स्वास्थ्य, सांस्कृतिक पक्ष र खेतीयोग्य जमिनको संरक्षणलाई समेत ध्यान दिनुपर्ने भन्दै उनले वैज्ञानिक र व्यवस्थित ढंगले पुनःस्थापना गर्नुपर्ने बताए ।