काठमाडौं, २९ भदौ । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । जहाजमा सवार १४ जना भारतीय चालक दलका सदस्यमध्ये १३ जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
बीबीसीका अनुसार आइतबार भएको हमलापछि बेपत्ता भारतीय नागरिकको खोजी तथा उद्धार कार्य जारी छ ।
भारतको विदेश मन्त्रालयले घटनाको निन्दा गर्दै बेपत्ता नागरिकको खोजीका लागि ओमानी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार ओमानस्थित भारतीय दूतावासले घटनाको निरन्तर निगरानी गरिरहेको छ ।
भारतले क्षेत्रीय तनाव तत्काल कम गर्न संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको छ । साथै अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न र क्षेत्रमा शान्ति पुनस्र्थापना गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।