काठमाडौं, २९ भदौ । सरकारले भोटेकोशी बाढी तथा अन्य विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन स्याहार तथा संरक्षणको जिम्मेवारी लिने भएको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
उनका अनुसार विपद्बाट प्रभावित बालबालिकाको उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पुनर्मिलनलाई सरकारले प्राथमिकतामा राखेको छ । अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाको दीर्घकालीन आवश्यकताको पहिचान गरी उपयुक्त संरक्षण व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–थेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको मन्त्री वादीले बताएकी छन् । केन्द्रबाट आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी र पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ ।
बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पहिचान, अवस्था मूल्यांकन र आवश्यक संरक्षण सेवाका लागि प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा सहजीकरण टोली परिचालन गरिएको पनि मन्त्री वादीले जानकारी दिएकी छन् ।
सरकारले विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना कार्यान्वयनमा ल्याएको उनको भनाइ छ । बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकतामा राखिएको उनले बताएकी छन् ।