काठमाडौं, २९ भदौ । युक्रेनको पोल्यान्ड सीमाबाट करिब दुई किलोमिटर दूरीमा रहेको याहोदिन क्षेत्रका यात्रुवाहक रेलमा रुसी ड्रोन आक्रमण भएको छ । ड्रोन आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगे पनि यात्रुहरूतर्फ कुनै मानवीय क्षति भएको छैन ।
बीबीसीका अनुसार घटनाभन्दा केही समयअघि मात्रै यही रेलमार्ग हुँदै बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरूको टोली यात्रा गरेको थियो ।
जोनसनसँगै बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत विभिन्न युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उक्त टोलीमा थिए । उनीहरू किभमा आयोजित एक सम्मेलनमा सहभागी भएर फर्किँदै थिए ।
युक्रेनी अधिकारीहरूले आक्रमण भएको स्थान पोल्यान्ड सीमाबाट निकै नजिक रहेको बताएका छन् । संवेदनशील सीमावर्ती क्षेत्रमा यात्रुवाहक रेललाई नै लक्षित गरी भएको यो आक्रमणलाई सुरक्षा दृष्टिले गम्भीर घटनाका रूपमा हेरिएको छ ।