काठमाडौं, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता तथा सनाखत हुन नसकेका शवहरूको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण प्रक्रिया सुरु गरेको छ ।
गत भदौ १० गतेको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव एवं शरीरका भागहरू पहिचान गर्न नेपाल प्रहरीले सूचना जारी गर्दै मृतकका रगतको नाता पर्ने आफन्तलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको हो ।
बेपत्ता व्यक्तिहरूका बाबुआमा, छोरा वा छोरीले काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याब वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा पुगी २ प्रति पासपोर्ट साइजको फोटोसहित रगतको नमुना संकलन गराउन सक्नेछन् ।
त्यस्तै, विदेशमा रहेका विदेशी वा गैरआवासीय नेपालीका हकमा पनि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशकै आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएन प्रोफाइलिङ’ गराउनुपर्नेछ । उक्त प्रोफाइलको सफ्टकपी (डिजिटल प्रति) नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन पनि प्रहरीले आग्रह गरेको छ ।
इमेल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, राहदानी (पासपोर्ट) वा आधिकारिक परिचयपत्रको विवरण, व्यक्ति हराएको मिति र सम्भावित स्थान, मान्यताप्राप्त प्रयोगशालाको डीएनए प्रोफाइलिङ रिपोर्ट समावेश गर्नुपर्ने प्रहरीले उल्लेख गरेको छ ।
