काठमाडौं, १५ भदौ । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा रुसी ब्याले कलाकार तथा कोरियोग्राफर एकातेरिना चेर्निखले नेपाली कलाकारसँग संयुक्त प्रस्तुति दिएकी छन् ।
सुशीला आट्र्स एकेडेमीको आयोजना तथा काठमाडौंस्थित रुसी हाउसको सहकार्यमा सोमबार काठमाडौंको डीएभी अडिटोरियममा आयोजित ‘रियल रिदम एन्ड सोल २०२६’ कार्यक्रममा चेर्निखले नेपाली नर्तकहरूसँग रुसी शास्त्रीय ब्याले प्रस्तुत गरेकी हुन् ।
सन् २०१३ देखि आयोजना हुँदै आएको ‘रिदम एन्ड सोल’ नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच सांस्कृतिक तथा कलात्मक आदानप्रदानको मञ्चका रूपमा विकास हुँदै आएको आयोजकले जनाएको छ । यस कार्यक्रममार्फत नेपाली युवा नर्तकले अनुभवी अन्तर्राष्ट्रिय कलाकारबाट सिक्ने अवसर पाउँदै आएका छन् ।
यस वर्षको कार्यक्रम नेपाल र रुसबीच सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रममा एकातेरिना चेर्निख र नेपाली कलाकारहरूले रुसी शास्त्रीय ब्याले प्रस्तुत गरेका थिए । उनीहरूले ‘द डाइङ स्वान’ तथा ‘स्वान लेक’बाट प्रेरित रुसी र स्पेनी नृत्यका अंश प्रस्तुत गरे ।
प्रस्तुतिले नेपाली दर्शकलाई रुसी शास्त्रीय ब्यालेको कलात्मकता, अनुशासन, अभिव्यक्तिपूर्ण चाल र समृद्ध सांस्कृतिक परम्परासँग परिचित गराएको आयोजकले जनाएको छ ।
कार्यक्रममा समकालीन नृत्य, एरियल प्रस्तुति, नेपाली तथा अन्य सांस्कृतिक नृत्य, भारतीय शास्त्रीय नृत्य, हिपहप, ब्रेकिङ तथा बी–बोइङ, प्रत्यक्ष भायोलिन वादन, थिएटर र कथावाचनलगायतका प्रस्तुति पनि समेटिएका थिए ।
चेर्निख व्यावसायिक ब्याले कलाकार, प्रशिक्षक, कोच, कोरियोग्राफर तथा निर्देशक हुन् । उनले रोस्तोभ कोरियोग्राफिक कलेजबाट अध्ययन गरेकी हुन्, जुन मस्को स्टेट एकेडेमी अफ कोरियोग्राफीको शाखा हो ।
सन् २०११ मा बोल्सोई थिएटरको मुख्य मञ्च पुनः सञ्चालन हुँदा आयोजित ऐतिहासिक कार्यक्रममा समेत उनले सहभागिता जनाएकी थिइन् । त्यसपछि उनले मस्को ब्याले अफ क्लासिकल कोरियोग्राफीसँग आबद्ध भएर काम गरेकी छन् ।
उनले विश्वका ७० भन्दा बढी देशमा व्यावसायिक प्रस्तुति दिइसकेकी छन् । उनको कलायात्रामा ५० भन्दा बढी उत्पादन तथा ३०० भन्दा बढी कोरियोग्राफिक सिर्जनामा सहभागिता रहेको जनाइएको छ । उनले रुस, चीन, स्पेनलगायतका देशमा ब्यालेसम्बन्धी मास्टरक्लास तथा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरेकी छन् ।
वार्षिकोत्सव कार्यक्रमकै अवसरमा चेर्निखले अगस्ट २९ मा काठमाडौंस्थित रुसी हाउसमा रुसी ब्यालेसम्बन्धी मास्टरक्लाससमेत सञ्चालन गरेकी थिइन् ।
मास्टरक्लासमा नेपाली कोरियोग्राफी शिक्षक, युवा नर्तक तथा सुशीला आट्र्स एकेडेमी र अन्य सहभागी समूहका विद्यार्थी सहभागी थिए । प्रशिक्षणमा रुसी ब्यालेको विधि, व्यावसायिक कोरियोग्राफी प्रविधि, शारीरिक चाल तथा नृत्य शिक्षाका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमले सांस्कृतिक आदानप्रदानसँगै मानवीय सहयोगको पक्षलाई पनि समेटेको छ । गाला कार्यक्रमबाट संकलित रकमको केही हिस्सा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
