काठमाडौं, ९ भदौ । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिना साउनमा करिब साढे १ अर्ब रुपैयाँको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको साउनमा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको ९९२ मेट्रिक टन कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ७१ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा ८४ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र ताजा अदुवा सबैभन्दा धेरै रहेको छ । साउनमा ६७ करोड १२ लाख रुपैयाँ बराबरको ३८७मेट्रिक टन अलैंची निर्यात भएको छ ।
यस्तै ४९ करोड ७१ लाख मूल्य बराबरको ६ हजार ५६४ मेट्रिक टन अन्य (कालो चिया) निर्यात भएको छ । १५ करोड ५४ लाखको २ हजार ३८१ मेट्रिक टन अदुवा र ३ करोड २ लाख मूल्य बराबरको १८ हजार किलो ग्रिन टी निर्यात भएको छ । विभागका अनुसार १ करोड ६५ लाख बराबरको साढे ६ हजार किलो कफी निर्यात भएको छ ।
मंसिरसम्ममा ९९ करोड २१ लाख करोड मूल्य बराबरको भने कफी, चिया र मसलाजन्य सामग्री आयात भएको छ । यी वस्तुको आयात गरेबापत सरकारले २६ करोड ५९ लाख रुपैयाँ राजस्व उठाएको छ ।