क्यानडालाई सवारी साधनमा ५० प्रतिशतसम्म भन्सार महसुल बढाउने ट्रम्पको चेतावनी

अनलाइनसमय |
९ भदौ २०८३
क्यानडालाई सवारी साधनमा ५० प्रतिशतसम्म भन्सार महसुल बढाउने ट्रम्पको चेतावनी

काठमाडौं, ९ भदौ । अमेरिका र क्यानडाबीचको व्यापार युद्ध थप उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक तथा अटो पाट्र्समा आगामी जनवरी १ देखि भन्सार महसुल (ट्यारिफ) २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन् ।

गत साताको अन्त्यतिर दुवै देशबीच भइरहेको व्यापार वार्ता बिना कुनै निष्कर्ष टुंगिएपछि यो नयाँ तनाव उत्पन्न भएको हो। वार्ता भंग हुनुमा दुवै पक्षले एक–अर्कामाथि अन्तिम समयमा अस्वाभाविक सर्तहरू राखेको आरोप लगाएका छन् ।

अमेरिकाको यो कदमप्रति कडा आपत्ति जनाउँदै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो चेतावनी अनौठो नभएको र उनी क्यानडाको अटो उद्योगलाई ध्वस्त पार्न चाहन्छन् भन्ने पुष्टि भएको बताएका छन् ।

प्रधानमन्त्री कार्नीले अमेरिका ‘सकारात्मक र सही दृष्टिकोण’ का साथ आए मात्र क्यानडा पुनः वार्ताको टेबलमा बस्न तयार रहेको स्पष्ट पारेका छन् । क्यानडाले अमेरिकी वस्तुहरूमाथि पनि ‘डलरको बदला डलर’का हिसाबले समानुपातिक भन्सार महसुल लगाउने घोषणा गरिसकेको छ ।

यसैबीच, क्यानडाको अटो निर्माणको मुख्य केन्द्र मानिने ओन्टारियो प्रान्तका मुख्यमन्त्री (प्रीमियर) डग फोर्डले ट्रम्पको धम्कीको कडा शब्दमा भत्सर्ना गरेका छन् । फोर्डले क्यानडाले अमेरिकातर्फ निकासी गर्ने तेल, ग्यास, बिजुली र बहुमूल्य खनिजहरूमा अतिरिक्त शुल्क लगाउनुपर्ने सुझाव दिएका छन् ।

फोर्डको उक्त अभिव्यक्तिपछि ट्रम्पले सामाजिक सञ्जालमा टिप्पणी गर्दै क्यानडाली नेताहरूलाई सीमामा बस्न र ‘लाइनमा आउन’ चेतावनी दिँदै नभए यसको परिणाम क्यानडाका लागि अझ भयावह हुने धम्की दिएका छन् ।

यस व्यापारिक तनावका कारण दुवै देशका व्यवसायी तथा उद्योगीहरू चिन्तित बनेका छन् । उता उत्तर अमेरिकी व्यापार सम्झौताको भविष्यलाई लिएर पनि अनिश्चितता बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस