काठमाडौं, ५ भदौ । पछिल्लो एक महिनामै ५७ हजारभन्दा बढी मेट्रिक टन एलपी ग्यास आयात छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८३/८४ को साउनमा मात्रै ५७ हजार ३३४ टन ग्यास आयात भएको छ, जुन गत आवको सोही महिनाको तुलनामा २९ दशमलव ३६ प्रतिशतले बढी हो । गत वर्षको साउनमा ४४ हजार ३१८ टन एलपी ग्यास आयात भएको थियो ।
साउनमा आयात भएको ५ करोड ७३ लाख किलोग्राम ग्यासले १४.२ किलोग्रामका ४० लाख सिलिन्डर भर्न पुग्छ । तर उपभोक्तताहरूले सजिलै ग्यास पाइरहेका छैनन् ।
केही महिनाअघि अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण कच्चा तेल र एलपीजी आपूर्ति शृंखलामा अवरोध हुँदा यसको प्रत्यक्ष असर नेपालमा समेत परिरहेको थियो ।
विभागको तथ्याङ्कअनुसार चैतयताका चार महिना नेपालमा औसत मागभन्दा कम ग्यास आयात भएको देखिन्छ । गत फागुनमा ५१ हजार १९२ मेट्रिक टन ग्यास आयात भएको थियो । निगमले फागुन २९ गतेबाट आधा सिलिन्डर ग्यास दिन सुरु गरेको थियो । यो समयमा भारतबाट आयात हुने ग्यासको परिमाणमा कमी आएको थियो ।
चैतमा ३८ हजार ७९९ र वैशाखमा ३२ हजार मेट्रिक टन मात्रै ग्यास आयात भयो । जेठमा पनि वैशाखको भन्दा ३२ हजार ८४३ ग्यास भित्रिएको थियो । त्यस्तै असारमा ४४ हजार मेट्रिक टन ग्यास आयात गरिएको थियो । यही चार महिनामा भएको कम आयातका कारण पनि ग्यास अभाव भएको हो ।