पूर्व–आगमन सूचना आदान–प्रदान गर्न एसएएसईसीमा आबद्ध नेपालसहित चार मुलुसकबीच समझदारी

अनलाइनसमय |
४ भदौ २०८३
पूर्व–आगमन सूचना आदान–प्रदान गर्न एसएएसईसीमा आबद्ध नेपालसहित चार मुलुसकबीच समझदारी

काठमाडौं, ४ भदौ । भन्सार मालवस्तुको पूर्व आगामन सूचना आदान प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ ।

दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरूप तयार गरिएको ‘दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग देशहरूका भन्सार प्रशासनहरूबीच वस्तुहरूको व्यापार सहजीकरण र भन्सार नियन्त्रणका लागि पूर्व–आगमन सूचना आदान–प्रदानमा सहयोगसम्बन्धी समझदारी पत्र’ मा हस्ताक्षर गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

यस समझदारी पत्रमा नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच हस्ताक्षर भएको हो ।

माल्दिभ्समा आयोजित एसएएसईसीको १४ औँ भन्सार सबसमूह बैठक को अवसरमा उक्त समझदारीपत्रमा चार देशका भन्सार प्रशासनको तर्फबाट आज मिति २०८३ साल भाद्र ३ मा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्री यमलाल भूसालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

यस समझदारीको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच वस्तुहरूको पूर्व–आगमन सूचना आदान–प्रदान गर्नु रहेको विभागले जनाइको छ । यसबाट मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अघि नै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न, भन्सारको नियन्त्रणलाई थप प्रभावकारी बनाउन तथा छिटो र सहज रूपमा वस्तु जाँचपास गर्न सहयोग पुग्नेछ ।

यसले व्यापारिक प्रक्रियामा लाग्ने समय र लागत घटाउँदै वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन योगदान गर्ने अपेक्षा विभागको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस