काठमाडौं, २ भदौ । संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब महिनामा दुईपटक तलबभत्ता पाउने व्यवस्थाका लागि पत्र पठाइएको छ । महालेखा नियन्त्रक कार्यालयले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको हो ।
कार्यालयले आइतबार जारी गरेको परिपत्रमा प्रत्येक १५ दिनको पारिश्रमिक सो अवधि पूरा भएपछि भुक्तानीको व्यवस्था मिलाउन भनिएको छ । यसअनुसार कर्मचारीले हाल पाइरहेको मासिक तलबभत्तासँगै चालू आर्थिक वर्षदेखि थप गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत महिनामा दुईपटक प्राप्त गर्नेछन् ।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार अर्धमासिक तलब प्रणाली लागू गर्न लागिएको महालेखाले जनाएको छ । नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रणालीगत सुधारसमेत पूरा भइसकेको कार्यालयको भनाइ छ ।
