९९ हिटी परिक्रमा : परम्परा, स्वास्थ्य र सम्पदा संरक्षणलाई जोड्ने अभियान

अनलाइनसमय |
२ भदौ २०८३
९९ हिटी परिक्रमा : परम्परा, स्वास्थ्य र सम्पदा संरक्षणलाई जोड्ने अभियान

काठमाडौं, २ भदौ । भक्तपुरको पुरानो जलसंस्कृति, धार्मिक परम्परा र सामुदायिक जीवनसँग जोडिएका हिटीहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष भदौ १२ गते जनै पूर्णिमा को अवसरमा ‘९९ हिटी परिक्रमा’ गर्न अपिल गरिएको छ ।

भक्तपुरमा परम्परागत रूपमा जनै पूर्णिमाका दिन पूर्वतर्फ फर्किएका हिटीमा स्नान गरी स्वस्थ शरीर, पवित्र आत्मा र वर्षभरि निरोगी जीवनको कामना गर्ने चलन रहेको थियो । तर पछिल्ला दशकमा धेरै हिटीमा पानीको स्रोत सुक्दै गएपछि यो परम्परा क्रमशः कमजोर हुँदै गएको छ । यही हराउँदै गएको परम्परालाई नयाँ पुस्तासँग जोड्दै हिँड्ने, हेर्ने, बुझ्ने र संरक्षणका लागि आवाज उठाउने अभियानका रूपमा ९९ हिटी परिक्रमा अपिल गरिएको हो ।

अभियानअन्तर्गत भक्तपुरका हिटीहरूलाई चार भौगोलिक तथा सांस्कृतिक खण्डमा अध्ययन तथा परिक्रमा गरिनेछ ।
सेक्सन ‘क’ — दक्षिणी भक्तपुर
सेक्सन ‘ख’ — उत्तरपश्चिमी भक्तपुर
सेक्सन ‘ग’ — उत्तरपूर्वी भक्तपुर
सेक्सन ‘घ’ — सापारु (गाईजात्रा) मार्गभित्र पर्ने हिटीहरू
सेक्सन ‘क’, ‘ख’ र ‘ग’ मा सापारु मार्गबाहिरका हिटीहरू समेटिएका छन् भने सेक्सन ‘घ’ मा सापारु परिक्रमा मार्गसँग जोडिएका ४४ हिटी समेटिएका छन् ।

‘फिट एन्ड फाइन’ यात्राको अवधारणा
९९ हिटी परिक्रमा केवल धार्मिक वा पर्यटन भ्रमण नभई स्वास्थ्य र सम्पदालाई एकै ठाउँमा जोड्ने पैदल अभियानका रूपमा विकास गर्न खोजिएको छ । अहिले पानी नआउने कतिपय हिटी परिसरमा समेत बिहान व्यायाम, भजन, पूजा तथा सामुदायिक गतिविधि भइरहेका छन् । त्यसैले यस अभियानलाई ‘फिट एन्ड फाइन’ यात्राका रूपमा अघि बढाउने प्रस्ताव गरिएको छ ।

परिक्रमा होइन, भक्तपुरको जलसम्पदाको अध्ययन
९९ हिटीको स्थलगत अध्ययनका क्रममा केही हिटी अझै पानीसहित प्रयोगमा रहेको, केही पुनर्निर्माण गरिएको तथा धेरै हिटी पानीविहीन, झारपातले ढाकिएका वा आधुनिक संरचनाका कारण आफ्नो मौलिक स्वरूप गुमाउँदै गएको पाइएको छ ।

जगाती हिटीमा पानीको निरन्तर प्रयोगले ‘उपयोगले संरक्षण’को सम्भावना देखाउँछ भने कतिपय हिटीमा निकास बन्द, फोहोर, बसोबास विस्तार र पानीको प्राकृतिक चक्रमा आएको परिवर्तन प्रमुख समस्या देखिएका छन् ।

उत्तरपूर्वी क्षेत्रको अध्ययनमा पनि पानीको संकट गम्भीर देखिएको छ । अध्ययन गरिएका १० हिटीमध्ये ७ वटा पूर्णतः सुकेका वा सञ्चालनमा नरहेका अवस्थामा भेटिएको उल्लेख छ ।
९९ हिटी परिक्रमा अभियानले हिटीलाई केवल पुरानो ढुंगेधारा वा पानीको संरचनाका रूपमा नभई भक्तपुरको सामाजिक, धार्मिक, सांस्कृतिक र वातावरणीय जीवनसँग जोडिएको सम्पदाका रूपमा हेर्न आग्रह गरेको छ ।

हिटीसँग जोडिएका भजन, दाफा, जात्रा, पूजा, पोखरी, मन्दिर र सामुदायिक अभ्यासले यी सम्पदालाई जीवित राख्दै आएका छन् । त्यसैले हिटी संरक्षणमा स्थानीय समुदायको स्वामित्व र सहभागिता, नियमित सरसफाइ तथा पानीको प्राकृतिक स्रोत संरक्षण आवश्यक रहेको अध्ययनले देखाएको छ ।

सबैलाई सहभागिताको आह्वान
भक्तपुर टुर्स रिसर्च सेन्टरले नगरवासी, विद्यार्थी, शिक्षक, कलाकार, स्वास्थ्यकर्मी, युवा, पर्यटन व्यवसायी, पर्यटक तथा सम्पदा संरक्षणकर्मीलाई ९९ हिटी परिक्रमा अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

यस अभियानको उद्देश्य पुरानो परम्परालाई केवल सम्झनामा सीमित नराखी नयाँ पुस्ताले प्रत्यक्ष रूपमा हिँडेर, हेरेर र बुझेर जीवन्त बनाउनु हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस