ग्यास अभावप्रति सरकार गम्भीर नभएको महासंघको आरोप

अनलाइनसमय |
३१ साउन २०८३
ग्यास अभावप्रति सरकार गम्भीर नभएको महासंघको आरोप

काठमाडौं, ३१ साउन । खाना पकाउने एलपी ग्यासको अभाव लामो समयदेखि कायम रहे पनि सरकारले समस्या समाधानका लागि प्रभावकारी कदम नचालेको ग्यास बिक्रेता महासंघले आरोप लगाएको छ ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालयलगायत सरकारी निकायहरू अभाव समाधानमा केन्द्रित हुनुपर्नेमा ‘अनावश्यक प्रचारबाजी’मा लागेको दाबी गरेको हो ।

महासंघका अनुसार पछिल्लो चार महिनामा नेपालमा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको छ । आयातमा आएको यही ठूलो गिरावटका कारण बजारमा मागअनुसार ग्यास आपूर्ति हुन नसकेको महासंघको भनाइ छ ।

अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख ग्यास सिलिन्डर छरिएर रहेको उल्लेख गरिएको छ । तर, पर्याप्त सिलिन्डर हुँदाहुँदै पनि नयाँ सिलिन्डर बिक्री गर्ने क्रम नरोकिएको भन्दै महासंघले यसले आगामी वर्ष ग्यास व्यवस्थापनको समस्या अझ जटिल बनाउने चेतावनी दिएको छ ।

महासंघले ग्यास उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्रीलाई पनि अभावको अर्को कारणका रूपमा औँल्याएको छ । वितरण प्रणालीमा रहेका अधिकृत बिक्रेतामार्फत बिक्री वितरण गर्नुपर्नेमा उद्योग र बिक्री केन्द्रबाटै ग्यास बिक्री हुँदा बजारमा आपूर्ति व्यवस्थापन प्रभावित भएको बताइएको छ ।

त्यस्तै, अनुगमनका नाममा आम ग्यास बिक्रेतालाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै महासंघले सरकारी निकायको कार्यशैलीप्रति समेत असन्तुष्टि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस