काठमाडौं, १८ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरु दोषी ठह¥याएको छ । न्युयोर्कको अदालतमा दुई दिनसम्म ट्रम्पमाथि लागेका ३४ अभियोगमाथि सुनुवाइ चलेको थियो । अदालतका १२ जुरीले यी सबै अभियोगमा ट्रम्पलाई दोषी ठहर गरेको हो ।
अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दयर्ता भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रूपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो ।
यसैगरी ट्रम्पले आफ्नो कारोबारको रेकर्डका कागजात हेरफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद् भवनमा तोडफोड गरेको लगायत आरोपहरु पनि थिए । सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठह¥याएको हो ।
अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजाय सुनाउने छन् ।
ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । कोर्ट रुमबाट बाहिरिंदै ट्रम्पले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकिर गरेका थिए । उनले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबी समेत गरे ।
१५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रूपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रूपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी छ ।