काठमाडौं, २६ साउन । जनकपुरधामका वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय विमलको सोमबार राति उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।
परिवारका अनुसार घरमै नातिसँग खेलिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा गएपछि राति करिब १ बजे उनको निधन भएको जनाइएको छ ।
विमलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित निजी निवासमा राखिएको छ । उनको आजै स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
लामो समय अध्यापन पेसामा रहेका विमलले विज्ञान विषयमा विद्यावारिधी गरेका थिए । उनले नेपाली, हिन्दी र अंग्रेजी विषयमा स्नातकोत्तरसमेत गरेका थिए ।
बाल्यकालदेखि नै साहित्यमा रुचि राख्दै आएका विमलका विभिन्न कथा, नाटक तथा लघुकथा प्रकाशित छन् । नेपाली र मैथिली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो ।