काठमाडौं, १७ जेठ । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाका विद्यालय ७ दिन बिदा हुने भएको छ । नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाले क्षेत्रका विद्यालयहरु भोलि, शुक्रबारदेखि लागू हुने गरी जेठ २४ गतेसम्मका लागि बिदा दिएको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् ।
खातीले गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार धनगढीमा २८ वर्ष यताकै सर्वाधिक ४३.३६ डिग्री तापक्रम मापन गरिएको थियो । आज धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ ।