काठमाडौं, २० साउन । प्रतिसेकेन्ड करिब २.४३ किलोमिटरको गतिमा अन्तरिक्षमा घुमिरहेको अमेरिकी कम्पनी स्पेसएक्सको फाल्कन ९ रकेटको एक टुक्रा टुक्रा चन्द्रमामा ठोक्किने भएको छ ।
खगोलविद् बिल ग्रेका अनुसार उक्त अवशेष चन्द्रमाको ‘आइन्स्टाइन क्रेटर’ नजिकै ठोक्किने निश्चित भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो ठक्कर करिब साढे १२ बजे हुने अनुमान गरिएको छ । यो पाँच तलाको भवनजत्रो आकार र कम्तीमा ४,००० किलोग्राम तौल भएको फाल्कन ९ अन्तरिक्षयानको माथिल्लो भाग हो ।
चन्द्रमाको यो क्षेत्रमा सूर्यको प्रकाश पर्ने र पृथ्वीबाट देख्न सकिने भागमा पर्ने भए तापनि नाङ्गो आँखाले भने यो ठक्करको दृश्य सीधा अवलोकन गर्न नसकिने विज्ञहरूले बताएका छन् । अत्याधुनिक र शक्तिशाली टेलिस्कोपको पहुँच भएका मानिसहरूले चन्द्रमाको सतहबाट निस्कने एउटा प्रकाशको चमक (फ्ल्याश) देख्न सक्नेछन् ।
अमेरिकामा रहेका ठूला टेलिस्कोपहरूका साथै नासाको ‘लुनार रेकोनेसेन्स अर्बिटर’ र दक्षिण कोरियाको ‘दानुरी’ प्रोबले ठक्करपछि निस्कने प्रकाश, धुलोको बादल (प्लूम) र बन्ने नयाँ खाडलको निगरानी गर्नेछन् । यसबाहेक, एउटा नागरिक–वैज्ञानिक (सिटिजन–साइन्स) परियोजनाले यस प्रभावको भिडियो खिच्नका लागि उत्साही सौखिन खगोलविद्हरूलाई पनि आबद्ध गराइरहेको छ ।
उड्ने धुलोको गतिविधिलाई कैद गरेर खगोलविद्हरू यो आकस्मिक दुर्घटनालाई एउटा उपयोगी प्रयोगमा बदल्ने आशामा छन् । यो घटना वैज्ञानिकहरूका लागि निकै उत्साहजनक छ; किनभने चन्द्रमामा खस्न लागेको रकेटको गति र तौल उनीहरूलाई पहिले नै थाहा छ ।
चन्द्रमामा दैनिक ठोक्किने उल्कापिण्डहरूको हकमा यस्तो जानकारी पहिले नै हुनु असम्भवप्रायः हुन्छ । यसको अर्थ, यो ठक्करबाट निस्कने भग्नावशेषको अध्ययन गर्दा वैज्ञानिकहरूसँग पर्याप्त तथ्यांक हुनेछ । ती अवशेषबाट परावर्तित हुने प्रकाशको अध्ययन गरेर वैज्ञानिकहरूले चन्द्रमाको विकासक्रमका साथै अर्बौं वर्षअघि सौर्यमण्डल कसरी बनेको थियो भन्ने कुरा बुझ्न सक्नेछन् ।
विज्ञहरूका अनुसार यो ठक्करबाट पृथ्वीलाई कुनै खतरा छैन । नासाका प्रवक्ता जिमी रसलले वैज्ञानिक प्रयोजनका लागि प्रभाव क्षेत्रको अनुगमन जारी राखिने भए पनि पृथ्वीका लागि कुनै खतरा नरहेको स्पष्ट पारेका छन् ।
नासाका वैज्ञानिकहरू यस घटनाबाट लुनार डाटा संकलन गर्ने र अन्तरिक्षमा रहेका वस्तुहरूको ट्र्याकिङ विधिलाई अझ परिष्कृत गर्ने योजनामा छन् । क्याम्ब्रिज विश्वविद्यालयका खगोलविद् डा. म्याट बोथवेल भन्छन्, ’‘यो चन्द्रमामा एउटा ठूलो वस्तु ठोक्किने घटना मात्र हो। यो अलिकति पनि खतरनाक छैन, हामी ढुक्क भएर यो दृश्य हेर्न सक्छौँ ।’
गत वर्ष दुईवटा लुनार ल्यान्डरहरू लिएर एउटा ‘फाल्कन ९’ रकेट फ्लोरिडाबाट अन्तरिक्षतर्फ उडेको थियो । रकेटको माथिल्लो भागलाई दुवै ल्यान्डरहरूलाई पृथ्वीको कक्षाबाट बाहिर निकालेर चन्द्रमाको बाटोमा पठाउन प्रयोग गरिएको थियो, जसमा यो सफल पनि भयो ।
तर, काम सकिएपछि उक्त रकेटको माथिल्लो भाग लामो र घुमाउरो कक्षामा अनियन्त्रित भई तैरिरह्यो, जुन चन्द्रमा र पृथ्वीको बीचमा ओहोरदोहोर गरिरहन्थ्यो । बीतेका १८ महिनाहरूमा पृथ्वी, चन्द्रमा र सूर्यको हल्का गुरुत्वाकर्षणका साथै सूर्यको किरणको सूक्ष्म दबाबले बिस्तारै यसको बाटो बदलियो । उक्त वस्तुलाई पछ्याइरहेका खगोलविद्हरूले अन्ततः ती साना धक्काहरूले गर्दा रकेट चन्द्रमातर्फ सोझिएको, दिनप्रतिदिन गति बढाउँदै गएको र अन्ततः चन्द्रमामा भीषण रूपमा ठोक्किने दिशामा अघि बढेको निष्कर्ष निकालेका हुन् ।