रुस र युक्रेनबीच भीषण हमला, कम्तीमा २७ जनाको मृत्यु

अनलाइनसमय |
१९ साउन २०८३
रुस र युक्रेनबीच भीषण हमला, कम्तीमा २७ जनाको मृत्यु

काठमाडौं, १९ साउन । रुस र युक्रेनबीच लगातार भइरहेको भीषण दोहोरो आक्रमणमा परी दुवैतर्फ गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ । दुवै देशका स्थानीय अधिकारीहरूका अनुसार सीमावर्ती क्षेत्र, आवासीय बस्ती र व्यापारिक केन्द्रहरूलाई लक्षित गरी भएका हवाई तथा ड्रोन आक्रमणमा दर्जनौँ मानिस घाइते भएका अल जजिराले लेखेको छ ।

पछिल्लो विवरण अनुसार रसियाली क्षेत्र र रसियाको कब्जामा रहेका भूभागहरूमा भएका आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी तटीय गाउँमा ड्रोनको टुक्रा खस्दा तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको छ भने क्रिमिया क्षेत्रमा ४ जना र मस्को नजिकै भएको ड्रोन आक्रमणमा ५ जनाको मृत्यु भएको छ ।

यी आक्रमणहरूमा ६० भन्दा बढी मानिस घाइते भएका छन् । यसैगरी युक्रेनी भूभागमा रुसी फौजले गरेका आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । युक्रेनको इन्धन केन्द्र (पेट्रोल पम्प) मा भएको आक्रमणमा उद्धार टोलीका एक कर्मचारी र उनका ८ वर्षका छोरासहित ३ जनाको मृत्यु भएको छ भने अर्को क्षेत्रमा रातभर भएको बमबारीमा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

युक्रेनमा २१ जनाभन्दा बढी मानिस अस्पतालमा उपचाररत छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । दुवै पक्षले व्यापारिक गोदाम, इन्धन डिपो र पूर्वाधारहरूलाई समेत निशाना बनाएका छन् । यद्यपि दुवै देशका सरकारहरूले सर्वसाधारण नागरिकलाई जानीजानी निशाना नबनाएको दाबी गर्दै आएका छन् । पछिल्ला दिनहरूमा हवाई आक्रमणको मात्रा तीव्र बनेपछि दुवै देशका सीमावर्ती तथा मुख्य सहरहरूमा त्रास र क्षति थप बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस