सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह

अनलाइनसमय |
१३ साउन २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह

काठमाडौं, १३ सायन । सुनसरीसहित विभिन्न जिल्लामा पछिल्लो समय देखिएका घटनाप्रति चासो व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरूले सामाजिक सद्भाव र शान्ति कायम गर्न संयुक्त अपिल जारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकपछि ९ वटा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले सात बुँदे साझा धारणा सार्वजनिक गरेका हुन् ।

संयुक्त अपिलमार्फत दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षणका लागि आफूहरू एकजुट रहेको बताएका छन् । उत्पन्न परिस्थितिको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ ।

दलहरूले समाजमा लामो समयदेखि कायम रहेको आपसी भाइचारा र सद्भावलाई असर गर्ने कुनै पनि गतिविधि तथा उत्तेजनात्मक कार्यबाट टाढा रहन नागरिकलाई आग्रह गरेका छन् । आवेग र मुठभेडले समस्याको समाधान गर्नुको सट्टा झन् जटिलता बढाउने भन्दै संयमता अपनाउन अपिल गरिएको छ ।

अपिलमा प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय छलफल आयोजना गर्न राजनीतिक दलका स्थानीय संरचनालाई निर्देशन दिइएको छ । संवादलाई तल्लो तहसम्म विस्तार गर्दै नागरिकबीच विश्वासको वातावरण बनाउन पहल गर्न पनि आग्रह गरिएको छ ।

धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग सहकार्य गर्दै स्थानीय स्तरमा शान्ति कायम गर्ने वातावरण बनाउन दलहरूले आह्वान गरेका छन्। साथै संवेदनशील अवस्थामा सामाजिक सञ्जालको प्रयोग जिम्मेवार ढंगले गर्न र सञ्चारमाध्यमलाई तथ्यमा आधारित तथा संयमित सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।

संयुक्त अपिलमार्फत दलहरूले नागरिकको जीउधनको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सरकारलाई परिस्थिति सामान्य बनाउन आवश्यक कदम चाल्न ध्यानाकर्षण गराएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न तथा प्रभावित पक्षलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस