नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो, यस्तो छ योग्यताको मापदण्ड

अनलाइनसमय |
१२ साउन २०८३
नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो, यस्तो छ योग्यताको मापदण्ड

काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ ।

अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्य संयोजकत्वको सीईओ छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै नेप्सेको सीईओमा खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । मन्त्रालयले सोमबार आचार्यको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ ।

नेप्सेको कार्यकारी प्रमुख बन्नका लागि उम्मेदवारको शैक्षिक तथा पेसागत पृष्ठभूमि उच्च हुनुपर्ने प्रावधान राखिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) सरहको उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यसका साथै उम्मेदवारसँग पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको अनुभव हुनुपर्नेछ, जसमा कम्तीमा ७ वर्ष सरकारी वा सङ्गठित संस्थाको व्यवस्थापकीय तहमा काम गरेको अनिवार्य अनुभव मागिएको छ ।

आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । गैर–नेपाली नागरिक, फौजदारी कसुरमा सजाय पाएका, कालोसूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेका र कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर वा डीभी) प्राप्त गरेका व्यक्तिहरू भने यस पदका लागि अयोग्य ठहरिनेछन् ।

आवेदकहरूले आफ्नो बायोडाटा र शैक्षिक प्रमाणपत्रका साथै नेप्सेलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने स्पष्ट सोचसहितको ३ प्रति खामबन्दी ‘व्यावसायिक कार्ययोजना’ अनिवार्य पेस गर्नुपर्नेछ ।

सिफारिस समितिले प्राप्त आवेदनको योग्यता, अनुभव र कार्ययोजनाको मूल्यांकनका आधारमा सर्टलिस्ट जारी गर्नेछ । त्यसपछि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि समितिले सर्टलिस्टमा परेकालाई डाक्नेछ ।

अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम समितिले मन्त्रालयसमक्ष पेस गर्नेछ । त्यसपछि मन्त्रालयले ती नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तिनैमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले नेप्सेको सीईओमा नियुक्त गर्नेछ ।

नेप्सेको सीईओबाट चूडामणि चापागाईंले कार्यकाल सकिनुअघि गत असार २२ गते राजीनामा दिएका थिए । उनलाई तत्कालीन सरकारले २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस