विश्वकै नम्बर–१ लक्जरी होटल बन्यो नेपालको ‘शिन्तामणि मुस्ताङ’

अनलाइनसमय |
११ साउन २०८३
विश्वकै नम्बर–१ लक्जरी होटल बन्यो नेपालको ‘शिन्तामणि मुस्ताङ’

काठमाडौं, ११ साउन । अन्तर्राष्ट्रिय प्रसिद्ध लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्टले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट लक्जरी होटलहरूको सूची सार्वजनिक गरेको छ । रोबले यस प्रतिष्ठित सूचीमा नेपालको मुस्ताङस्थित शिन्तामणि मुस्ताङलाई विश्वकै उत्कृष्ट आतिथ्यताको सेवाको पहिलो स्थानमा राखेर रिपोर्ट सार्वजनिक गरेको छ ।

‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ मा फ्रान्स, इटाली, बेलायत, भारत, जापान र रुवान्डाजस्ता देशका विश्वचर्चित होटलहरूलाई पछि पार्र्दैै नेपालको यो रिसोर्ट शीर्ष स्थानमा परेको हो ।

सन् २०२३ देखि विश्वभरका उत्कृष्ट ५० होटलहरूको सूची प्रकाशन गर्दै आएको म्यागजिनले यस वर्ष पनि आफ्ना २४ जना ‘ट्राभल मास्टर्स’ (विश्वका धनाढ्य र विशिष्ट पारखीहरूलाई सेवा दिने पाँच–तारे पर्यटन विशेषज्ञ) को सिफारिसका आधारमा यो नतिजा सार्वजनिक गरेको रब रिपोर्टले जनाएको छ ।
होटलहरूको भौतिक संरचना, अद्वितीय व्यवस्थापन, सेवाको गुणस्तर, भौगोलिक अवस्थिति र पाहुनालाई दिइने विशिष्ट अनुभवलाई मूल्याङ्कन गरी यो सूची तयार पारिएको रिपोर्टमा उल्लेख छ ।

प्रसिद्ध म्याक्सिमलिस्ट आर्किटेक्ट तथा डिजाइनर बिल बेन्स्लेद्वारा डिजाइन गरिएको यो रिसोर्ट मुस्ताङको जोमसोम नजिकै अवस्थित छ । बागलुङको प्राकृतिक ढुङ्गा प्रयोग गरी निर्मित २९ कोठे यस रिसोर्टका प्रत्येक कोठाबाट निलगिरि हिमश्रृङ्खला र मुस्ताङको अनौठो भूगोलको विहङ्गम दृश्य देख्न सकिन्छ ।

रब रिपोर्टले यसलाई ‘शरीर, मन र आत्मालाई पूर्ण विश्राम दिने अन्तिम गन्तव्य’ को रूपमा चित्रण गरेको छ । पाहुनाहरूलाई पूर्ण रूपमा तनावमुक्त बनाउन यहाँ कम्तीमा ५ रातको बसाइ अनिवार्य गरिएको छ ।

यहाँ आउने आगन्तुकहरूले घोडाचढी, धनुर्विद्या (आर्चरी), हाइकिङका साथै ८०० वर्ष पुरानो बोन बौद्ध धर्मको ऐतिहासिक ‘लुब्रा गाउँ’ को भ्रमण गर्न सक्छन् । रिसोर्टमा हिमाली जडीबुटीबाट उपचार गर्ने परम्परागत डाक्टर (अम्छी) बाट पूरक स्वास्थ्य सेवा लिन पाउने व्यवस्था छ ।

नेपालको पर्यटनका लागि ऐतिहासिक कोसेढुङ्गा
नेपालमा शेर्पा हस्पिटालिटी ग्रुपले सञ्चालन गर्दै आएको यस रिसोर्टले विश्वकै नम्बर १ लक्जरी होटलको उपाधि पाउनुलाई नेपालको पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ । शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नामग्याल शेर्पाले यो पहिचानले नेपाल साहसिक पर्यटनका लागि मात्र नभई विश्वस्तरीय ‘हाई–एन्ड लक्जरी’ गन्तव्यको रूपमा समेत अब्बल छ भन्ने सन्देश विश्वभर पुर्याएको बताए ।

रब रिपोर्टका अनुसार यस वर्ष युद्धका कारण मध्यपूर्वी क्षेत्रका कुनै पनि होटल सूचीमा पर्न सकेनन् । इटाली र भारतका धेरै होटलहरू शीर्ष सूचीमा अटाएका छन् ।

शीर्ष १० मा यी होटलहरू परेका छन् :
१. शिन्तामणि मुस्ताङ (नेपाल)
२. सिंगिता क्विटोन्डा (रुवान्डा)
३. होप लज (स्कटल्याण्ड)
४. पार्क हयात टोकियो (जापान)
५. शक्ति प्राण (भारत)
६. कलेजियो अला क्वेर्से (इटाली)
७. क्लेरिजेज (बेलायत)
८. ले ब्रिस्टल पेरिस (फ्रान्स)
९. इस्लास सेकास (पानामा)
१०. कासा बोनाभिटा (माल्टा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस