गोली लागेर युवकको मृत्युपछि देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा

अनलाइनसमय |
११ साउन २०८३
गोली लागेर युवकको मृत्युपछि देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा

काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकाले झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएपछि सोमबार र मंगलबार (साउन ११ र १२ गते) दुई दिन शोक बिदा घोषणा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले जारी गरेको सूचनाअनुसार देवानगञ्ज गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन शोक बिदा रहनेछ ।

देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार (साउन १०) राति दुई समूहबीच भएको झडपका क्रममा गोली लागेर सोही वडाका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोक बिदा दिएको जनाएको छ ।

यता, घटनापछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको दक्षिणी क्षेत्रका पाँच स्थानमा कफ्र्यु आदेश जारी गरेको छ । प्रशासनका अनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कफ्र्यु लागू रहनेछ ।

घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस