इजिप्टको ७४औँ राष्ट्रिय दिवस काठमाडौंमा मनाइयो

अनलाइनसमय |
१० साउन २०८३
इजिप्टको ७४औँ राष्ट्रिय दिवस काठमाडौंमा मनाइयो

काठमाडौं, १० साउन । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा इजिप्टको ७४औँ राष्ट्रिय दिवस काठमाडौंमा मनाइएको छ।

नेपालका लागि इजिप्टका राजदूत शेरिफ अलदिवानीको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल र इजिप्टबीचको ऐतिहासिक सम्बन्ध, मित्रता तथा बढ्दो सहकार्यलाई स्मरण गरिएको थियो।

कार्यक्रममा नेपाल र इजिप्टका राष्ट्रिय गान बजाएर औपचारिक समारोहको सुरुवात गरिएको थियो। त्यसपछि नेपालका लागि इजिप्टका राजदूत अलदिवानीले राष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उपराष्ट्रपति यादव तथा राजदूत अलदिवानीले नेपाल र इजिप्टबीचको निरन्तर समृद्धि, शान्ति र मित्रताको कामना गर्दै औपचारिक ‘टोस्ट’समेत गरेका थिए।

इजिप्टको राष्ट्रिय दिवस २३ जुलाई १९५२ को गौरवशाली क्रान्तिको स्मरणमा मनाइन्छ। उक्त अवसरमा इजिप्टको समृद्ध इतिहास, सांस्कृतिक सम्पदा तथा नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो।

औपचारिक समारोहपछि सहभागीहरूलाई इजिप्टको मौलिक परिकारको स्वाद लिनुका साथै इजिप्टको सौन्दर्य, इतिहास र संस्कृतिसम्बन्धी विशेष प्रस्तुति अवलोकन गर्ने अवसर प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, नेपालस्थित इजिप्टेली समुदाय तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस