अमेरिका–इरान तनावले कच्चा तेल महँगो

अनलाइनसमय |
४ साउन २०८३
अमेरिका–इरान तनावले कच्चा तेल महँगो

काठमाडौं, ४ साउन । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च स्तरमा पुगेको छ । मध्यपूर्वमा द्वन्द्व थप चर्किन सक्ने आशंकाले विश्व ऊर्जा बजारमा दबाब बढाएको हो ।

हर्मुज जलसन्धिमा तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताका कारण ब्रेन्ट र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको एएफपीले लेखेको छ । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च बिन्दुमा पुगेको छ । गत सातामात्रै दुवै मापदण्डको तेल मूल्य चार प्रतिशतभन्दा बढीले बढेको थियो ।

अमेरिकाले इरानी सैन्य लक्ष्यमा थप हवाई आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि आक्रमण गरेपछि बजारमा तनाव थप बढेको विश्लेषण गरिएको छ ।

तेलको मूल्य बढेसँगै मुद्रास्फीति पुनः बढ्न सक्ने र विभिन्न देशका केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने योजनामा असर पर्न सक्ने चिन्ता पनि बढेको छ । एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसका अनुसार भू–राजनीतिक जोखिमले तेलको मूल्य उकासे पनि अमेरिकी मुद्रास्फीति घट्दो क्रममा रहेकाले दीर्घकालीन महँगीको जोखिम अझै सीमित देखिएको छ । यद्यपि तेलको मूल्य लामो समयसम्म उच्च रहे आर्थिक वृद्धि र उपभोक्ता खर्चमा दबाब पर्न सक्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस