काठमाडौं, १ साउन । सन् १९५८ को विश्वकप फाइनलमा ब्राजिलका महान फुटबलर पेलेले लगाएको जर्सी न्युयोर्कमा भएको सोथबीको लिलामीमा ४९ लाख अमेरिकी डलर (३६ लाख पाउन्ड) मा बिक्री भएको छ ।
यो इतिहासमै दोस्रो सबैभन्दा बढी मूल्यमा बिक्री भएको फुटबल जर्सी बनेको छ । यसअघि सबैभन्दा महँगोमा बिक्री भएको जर्सीको कीर्तिमान डिएगो म्याराडोनाको नाममा छ । सन् १९८६ को विश्वकपमा इङ्ल्यान्डविरुद्ध प्रसिद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा उनले लगाएको अर्जेन्टिनाको जर्सी सन् २०२२ मा ७१ लाख पाउन्डमा बिक्री भएको थियो ।
पाँचभन्दा बढी बोलपत्रदाताहरूबाट कुल १० वटा बोल प्राप्त गरेको पेलेको यो १९५८ को फाइनलको जर्सी लिलामीमा बिक्री भएको उनको अहिलेसम्मकै सबैभन्दा मूल्यवान् खेलकुद सामाग्री बनेको छ ।
यही जर्सी सन् २००४ मा मात्र १ लाख ५ हजार ६०० डलर (७० हजार ५०५ पाउन्ड) मा बिक्री भएको थियो ।
सन् १९५८ को विश्वकप फाइनलमा मात्र १७ वर्षको उमेरमा पेलेले स्वीडेनविरुद्ध दुई गोल गर्दै आफ्नो करियरको पहिलो विश्वकप उपाधि जितेका थिए । उनले आफ्नो खेल जीवनमा कुल तीनवटा विश्वकप जितेका छन् । विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान अहिले पनि उनकै नाममा सुरक्षित छ ।
सोथबीका खेलकुद रणनीति र विकास प्रमुख ब्रेन्डन हक्सले भने, ‘आजको यो नतिजा इतिहासकै महान् फुटबलरमध्येका एकको कहिल्यै नसकिने विरासतको बलियो प्रमाण हो। यो जर्सी फुटबल इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षणको सम्झना मात्र होइन, बरु पेलेलाई विश्वव्यापी खेलकुद आइकनका रूपमा स्थापित गर्ने मुख्य क्षणसँग जोडिएको छ ।’
यसैगरी, बिहीबार आयोजित ‘द ब्युटिफुल गेम’ नामक यस लिलामीमा अन्य चर्चित खेलाडीका सामग्रीहरू पनि राम्रो मूल्यमा बिक्री भएका छन् । सन् १९८६ को विश्वकपमा इङ्ल्यान्डविरुद्धको खेलमा प्रसिद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा अर्जेन्टिनाका तत्कालीन कप्तान डिएगो म्याराडोनाले बाँधेको आर्मब्यान्ड ५ लाख १२ हजार अमेरिकी डलर (करिब ३ लाख ८० हजार पाउन्ड) मा लिलाम भएको छ ।
त्यसैगरी, सन् २०१७ को च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले पेरिस सेन्ट–जर्मेनविरुद्ध हासिल गरेको ऐतिहासिक ६–१ को पुनरागमन जितका क्रममा लियोनेल मेस्सीले लगाएको जर्सी २ लाख १७ हजार ६ सय डलर (करिब १ लाख ६१ हजार ४ सय ८२ पाउन्ड) मा बिक्री भएको छ । सोही लिलामीमा इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले सन् २००२ को विश्वकपमा आफ्नो देशका लागि ५०औं खेल खेल्दा लगाएको जर्सी पनि ५१ हजार २ सय डलर (करिब ३७ हजार ९ सय ९६ पाउन्ड) मा बिक्री भएको छ ।