आज साउने संक्रान्ति

अनलाइनसमय |
१ साउन २०८३
आज साउने संक्रान्ति

काठमाडौं, १ साउन । प्रत्येक वर्ष साउन महिनाको पहिलो दिन मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा सर्वसाधारणले पवित्र नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी दान–पुण्य गर्ने परम्परा निर्वाह गरिरहेका छन् ।

ज्योतिषीय मान्यताअनुसार आजको दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छ । यही दिनदेखि सूर्यको दक्षिणायन यात्रा सुरु हुने भएकाले साउने सङ्क्रान्तिलाई वैदिक सनातन परम्परामा विशेष धार्मिक महत्वका साथ लिने गरिन्छ । माघ १ गतेबाट सुरु हुने उत्तरायण र साउन १ गतेबाट सुरु हुने दक्षिणायन दुवैलाई शुभ समयका रूपमा मान्ने परम्परा रहेको छ ।

नेपाल कृषि प्रधान देश भएकाले अधिकांश किसान असारभर रोपाइँ तथा अन्य कृषिकर्ममा व्यस्त रहने गर्छन् । यस अवधिमा हिलोमैलोमा काम गर्दा छालासम्बन्धी रोग लाग्न सक्ने विश्वासका कारण साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ परम्परा प्रचलित रहेको संस्कृतिविद् तथा धर्मशास्त्रका जानकारहरू बताउँछन् ।

साउन महिनालाई भगवान् शिवको आराधनाको विशेष समयका रूपमा समेत लिइन्छ । यस महिनाभर विशेषगरी सोमबारका दिन शिवालयमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ । महिलाले हरियो चुरा, हरिया वस्त्र तथा मेहन्दी लगाएर साउनको स्वागत गर्ने सांस्कृतिक परम्परा पनि नेपाली समाजमा प्रचलित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस