अमेरिकाद्वारा इरानमाथि आक्रमण तिव्र

अनलाइनसमय |
३१ असार २०८३
अमेरिकाद्वारा इरानमाथि आक्रमण तिव्र

काठमाडौं, ३१ असार । अमेरिकाले इरानविरुद्ध सञ्चालन गरिरहेको सैन्य अभियानलाई थप तीव्र बनाएको छ । लगातार चौथो दिन पनि अमेरिकी सेनाले इरानका विभिन्न स्थानलाई लक्षित गरी आक्रमण गरेको जनाइएको हो । साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरिएपछि वासिङ्टन र तेहरानबीचको तनाव थप बढेको छ ।

अमेरिकी कदमले युद्धविराम र शान्ति वार्ताका लागि भएको सहमति प्रभावहीन बनेको इरानले प्रतिक्रिया दिएको एएफपीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा सहभागी नभए आगामी सातादेखि विद्युत् उत्पादन केन्द्र, रणनीतिक पुल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरान वार्ताका लागि तयार नभएसम्म सैन्य दबाब कायम रहने बताएका हुन् । यद्यपि, हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि अतिरिक्त शुल्क लगाउने प्रस्ताव भने फिर्ता लिइएको उनँले जानकारी दिए ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो सैन्य कारबाहीको मुख्य उद्देश्य हर्मुज जलघाँटी क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु हो । सेन्टकमले गत साताभित्र इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गरेको र त्यस क्रममा चालकदलका सदस्यहरू मारिनुका साथै घाइते तथा बेपत्ता भएको जनाएको छ ।

उता, इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केशम टापु तथा बुसेहर प्रान्तका विभिन्न क्षेत्रमा विस्फोट भएको बताएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी आक्रमण इरानको नागरिक आणविक विद्युत् केन्द्र रहेको क्षेत्र र इराक तथा कुवेत सीमावर्ती स्थानसम्म केन्द्रित भएको थियो ।

इरानी सरकारी समाचार एजेन्सी इरनाका अनुसार त्यसको जवाफस्वरूप इरानी सेनाले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको छ । साथै, रिभोलुसनरी गाड्र्सले बहराइनस्थित अमेरिकी सैन्य सुविधा र आवासीय क्षेत्रमा मिसाइल तथा ड्रोन प्रहार गरिएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस