इरान वार्तामा नफर्किए अर्को साता पुल र विद्युत् केन्द्र ध्वस्त पार्ने ट्रम्पको चेतावनी

अनलाइनसमय |
३१ असार २०८३
इरान वार्तामा नफर्किए अर्को साता पुल र विद्युत् केन्द्र ध्वस्त पार्ने ट्रम्पको चेतावनी

काठमाडौं, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्ता त्यहाँका पुल र पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजसँगको एक अन्तर्वार्तामा उनले यस्तो टिप्पणी गरेका हुन् । यो टिप्पणी दुई देशबीच लगातार चौथो दिन पनि गोलाबारी भइरहेका बेला आएको हो ।

यसअघि ट्रम्पले हर्मुज जलमार्गबाट ओसारपसार हुने सबै कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लगाउने आफ्नो धम्की फिर्ता लिएका थिए, तर इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी भने पुनः सुरु गरेका छन् ।

‘अर्को हप्ता उनीहरूका लागि स्थिति वास्तवमै खराब हुनेछ,’ ट्रम्पले भने, ‘यदि उनीहरू टेबलमा आएर वार्ता गर्दैनन् भने हामी उनीहरूका सबै पावर प्लान्टहरू ध्वस्त पार्नेछौँ । हामी उनीहरूका सबै पुलहरू भत्काइदिनेछौँ ।’

गत अप्रिलमा ट्रम्पले इरानका पुल र पावर प्लान्ट लगायतका नागरिक पूर्वाधारहरूमा बमबारी गर्ने धम्की दिएपछि संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले भनेका थिए, ‘अन्तर्राष्ट्रिय कानुन अनुसार, नागरिक र नागरिक पूर्वाधारहरूलाई जानाजानी निशाना बनाउनु युद्ध अपराध हो ।’

युद्धमा मानवीय आचरणसम्बन्धी सन् १९४९ को जेनेभा महासन्धिले नागरिकहरूका लागि आवश्यक मानिने स्थलहरूमा आक्रमण गर्न निषेध गर्दछ । मंगलबार राति प्रसारित ‘स्पेशल रिपोर्ट विथ ब्रेट बायर’ कार्यक्रमको अन्तर्वार्तामा ट्रम्पले भने, ‘म ऊर्जा केन्द्रहरूलाई अन्तिमका लागि बचाएर राख्नेछु, तर अन्ततः हामी ऊर्जा केन्द्रहरूमा प्रहार गर्नेछौँ ।’

उनले अमेरिकी वार्ताकारहरूले मंगलबार साँझ आफ्ना इरानी समकक्षहरूलाई ‘तुरुन्तै सम्झौता गर, अन्यथा तिमीहरूसँग केही पनि बाँकी रहने छैन’ भनी सन्देश पठाएको बताए ।

तनावपूर्ण अभिव्यक्तिको यो शृङ्खला ट्रम्पले हर्मुज जलमार्गमा लगाउने भनिएको २० प्रतिशत शुल्कको सट्टा खाडी मुलुकहरूसँग व्यापक व्यापार र लगानी सम्झौता गरिने बताएपछि आएको हो । उनको यो घोषणा अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी सुरु गर्नुभन्दा केही घण्टा अघि मात्र आएको थियो ।

तेलको मूल्यमा वृद्धि
अमेरिका र इरानबीच पुनः सुरु भएको आक्रमणका कारण हर्मुज जलमार्ग हुँदै यात्रा गर्ने ट्याङ्करहरूको आवतजावत ठप्प जस्तै भएपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । अमेरिकी सेन्ट्रल कमाण्डले मंगलबार ढिलो गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस महत्त्वपूर्ण जलमार्गमा व्यावसायिक ढुवानीमा आक्रमण गर्न प्रयोग गरिने इरानी क्षमतालाई कमजोर बनाउन हाम्रा सेनाहरूले इरानविरुद्ध थप चरणको आक्रमण सुरु गरेका छन् ।’

मंगलबार राति एक बयानमा अमेरिकी एड्मिरल ब्राड कुपरले इरानले यस क्षेत्रमा सातवटा व्यावसायिक जहाजहरूमा आक्रमण गरेर जानाजानी नागरिकहरूलाई निशाना बनाएको र जसका कारण झन्डै एक दर्जन नागरिक चालक दलका सदस्यहरू मारिएका, बेपत्ता भएका वा घाइते भएका’ बताए ।

संयुक्त अरब इमिरेट्सले सोमबार राति इरानी क्रुज मिसाइलहरूले आफ्ना दुईवटा राष्ट्रिय ट्याङ्करहरूलाई निशाना बनाएको, जसमा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको र अन्य आठ जना घाइते (चार जना गम्भीर) भएको बताएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले पछि टेलिग्राममार्फत एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको पुष्टि गरेको छ । यस्तै, बुधबार बिहान सबेरै, कुवेतको सेनाले इरानी आक्रमणकारी ड्रोनहरूलाई आकासमै रोकिरहेको बताएको छ भने बहराइनले हवाई आक्रमणको साइरन बजाएको छ ।

कुवेती सेनाले भनेको छ, ‘कुवेती वायु रक्षा प्रणालीले हालैको घृणित इरानी आक्रामकता पछि भइरहेका शत्रुतापूर्ण ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ ।’ बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई शान्त रहन र नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

तेहरानले मंगलबार संयुक्त अरब इमिरेट्सका दुईवटा ट्याङ्करमा आक्रमण गरेपछि बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस