काठमाडौं, २५ असार । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाकिस्तान सरकारको पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम (पीटीएपी) अन्तर्गत शैक्षिक सत्र २०२६–२७ का लागि नेपाली विद्यार्थीबाट छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।
यस कार्यक्रमअन्तर्गत स्नातक तहको विज्ञान (बीएससी) इन्जिनियरिङ र डी–फार्मेसी अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको हो ।
छात्रवृत्तिअन्तर्गत सिभिल इन्जिनियरिङमा २, कम्प्युटर इन्जिनियरिङमा २, इलेक्ट्रिकल इन्जिनियरिङमा २ तथा डी–फार्मेसीमा ८ गरी कुल १४ सिट उपलब्ध छन् ।
छात्रवृत्तिका लागि छनोट इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) पुल्चोकको प्रवेश परीक्षा मेरिट सूचीका आधारमा हुनेछ । आवेदन दिन इच्छुक विद्यार्थीले कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको तथा आईओई प्रवेश परीक्षा नतिजामा नाम समावेश भएको हुनुपर्नेछ ।
इच्छुकले शिक्षा मन्त्रालयले सार्वजनिक गरेको गुगल फाराममार्फत तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ । आवेदनसँगै शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट), नेपाली नागरिकताको प्रतिलिपि तथा आईओई प्रवेश परीक्षा स्कोरकार्ड समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले छात्रवृत्तिसम्बन्धी विस्तृत सूचना आफ्नो आधिकारिक माध्यमबाट हेर्न र तोकिएको समयभित्र आवेदन दिन सम्बन्धित विद्यार्थीलाई आग्रह गरेको छ ।