काठमाडौं, १८ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेश, कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थान मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राती देशभर साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थान साथै कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।